काठमाडौं। ‘पोलियो अन्त्य गरौँ’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ ।
पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ । पोलियो उन्मूलन अभियान अन्तर्गत बालबालिकालाई एक वर्ष उमेरभित्र एक/एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउने अभियान संचालन हुदै आएको छ । मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप(इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ ।
पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर बढीजसो पाँच वर्ष मुनिका बालबालिका बढी जोखिम हुने गरेकाले पोलियोबाट बच्नका लागि पोलियोविरुद्धको खोप नै लगाउनु उत्तम मानिन्छ । साथै पोलियोबाट बच्नका लागि साथै व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ ।

