काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्ने छन् । उद्ध्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ ।महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने छन ।महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्विर छन् । यसैगरी कार्लमाक्र्स,फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्विरहरु राखिएका छन् ।करिब १२ मिनेटमा उद्ध्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ । त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ । साँझ पाँच बजे आजका कार्यसुची सकिने छ ।
भोली प्रतिवेदनहरु माथी नौ वटा समुहमा छलफल हुने र पर्सी समुहले पेश गरेका प्रतिवेदन प्रस्तुती सहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ ।

