काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा १० समूह विभाजित भएर प्रतिनिधिहरूले पार्टीको उमेरहद, नेतृत्व, सदस्यता नवीकरण र अनुशासनबारे विचार राखेका छन् ।
पार्टीका प्रत्येक कमिटीमा एक तिहाइ वा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग उठेको छ । सबै तहमा दलितको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव आएको छ । प्रतिनिधिहरूले जिल्ला कमिटीलाई समन्वयकारी बनाउन र निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाउने प्रस्ताव गरेका छन् । महाधिवेशनमा दलित र महिलाको समावेशी प्रतिनिधित्व, प्रि–इलेक्सन, र तीन तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सुझाव तथा प्रस्तावहरू आएका छन् । मुख्य चार विषयमा बहस विधान महाधिवेशन प्रतिनिधहरू चार वटा विषयमा पक्ष र विपक्षमै प्रस्तुत भएका छन् । उमेरहद,नेतृत्वमा दुई पटक,पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण र अनुशासनको परिभाषाका विषयमा नेताहरू पक्ष बिपक्षमा प्रस्तुत भएका हुन । शनिबार एमालेको विधान महाधिवेशनमा समूहमा छलफल सकिएको छ । विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागी छन् । उनीहरूले निकाल्ने निष्कर्षले एमालेको विधान तयार हुनेछ ।
आइतबार समूहगत छलफलमा उठेका विषयमा समूहका नेताले एकीकृत रुपमा राख्नेछन् ।त्यसलाई सम्बोधन गरेर प्रस्तुत प्रतिवेदन पारित गर्दै विधान महाधिवेशन सकिनेछ ।

