काठमाडौं ।सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी मापदण्ड स्वीकृत गरेको हो । नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो ।१० दिन तालिम र ३० दिन कार्यस्थलमा खटिने गरी भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवा सुविधा उपलब्ध गराइनेछ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार दिइनेछ । आउने र जाने तयारी खर्चअन्तर्गत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ, ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय दिइनेछ ।त्यस्तै,निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने जनशक्तिलाई निर्वाचन प्रहरीलाई दिएसरह १२ सय रुपैयाँ खाजा खर्च दिइनेछ ।
नियुक्तिका लागि दुवै प्रहरीले आफ्नो जवानसरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय हुने मापदण्डमा उल्लेख छ । १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

