काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि अब २ दिन मात्र बाँकी छ । सोमबार रातिदेखि मौन अवधि सुरु भईसकेको छ ।
निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरकफरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणका सम्बन्धमा आयोगले स्मरण गराएको छ ।
प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने भनी तोकिएका कार्यहरू नगर्न र गराउन आयोगले अनुरोध गरेको छ ।

