काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा भएको वडा स्तरीय १५ दिने उद्घोषण तथा भाषणकला प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथी चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आफ्नो कार्यकालमा करिव २० करोड रुपैयाँ बराबरको तालिम दिईसकेको बताउदै नगरबासीले आफ्नो रुची,क्षमता,दक्षता अनुसारको तालिम लिएको बताए । उनले,अबका दिनमा लिईएका तालिमबाट आयआर्जनको बाटो पहिल्याउनु पर्नेमा जोड दिए । तालिम लिनुमात्र ठुलो कुरा नभएको बताउदै उनले निरञ्तर अभ्यासका साथ खारिएर आउनुपर्नेमा प्रशिक्षर्थीहरुलाई सचेत गराए ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठले तालिमलाई व्यवहारीक जिवनसंग जोडनुपर्ने बताइन । उनले उद्घोषण र भाषणकला फरक पाटो भएकाले भाषण गर्दा बिषयबस्तुको गम्भिर अध्ययन हुनु पर्ने भएकाले अध्ययनमा जोड दिन आग्रह गरिन । नगरपालिकाले दिनेगरेका तालिममा एकै प्रकारका अनुहार देखिने गरेको भन्दै लिईएको तालिमबाटनै कसरी आयआर्जन गर्न सकिन्छ त्यस तर्फ ध्यानदिन सुझाव दिइन ।तालिमको दौरान सुरुवात र अन्तिम दिनमा मात्रै सबै र अन्य दिनमा केही मात्रै प्रशिक्षार्थी देखिने गरेको अनुगमनका क्रममा देखिएको अनुभव सुनाउदै श्रेष्ठले त्यस्तो हुन नहुने भन्दै आयोजकलाई सचेत समेत गराइन ।
चन्द्रागिरि नगरपालिकाका स्थानियहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम भएको हो । २०८२ चैत्र महिनामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ मा गठन भएको चन्द्रागिरि महिला विकास समाजिक संस्थाले प्रशिक्षण कार्यक्रम गरेको हो ।
नगरक्षेत्रका ४२ जनाले प्रशिक्षण लिएको आयोजकले जानकारी दिएको छ । प्रशिक्षार्थीहरुलाई दिपक लामिछाने र दिपक श्रेष्ठले प्रशिक्षण दिएको संस्थाका अध्यक्ष मन्जु कार्कीले बताईन ।

