काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चालु आर्थिक बर्षमा संचालित ‘सक्रिय क्षयरोग खोज पडताल कार्यक्रम’ सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरक्षेत्रको १ देखि १५ वटै वडामा कार्यक्रम संचालन भएको हो । कार्यक्रम अन्तर्रगत दुई चरणमा गरि कुल ३ हजार ५ सय ९३ जनालाई स्क्रिनिङ गरिएको हो । जसमध्ये ३५ जनामा क्षयरोग देखिएको छ ।
गत माघ महिनामा संचालित पहिलो चरणको कार्यक्रममा नगर क्षेत्रका ७ स्थानमा १ हजार ५ सय ८५जनामा स्क्रिनिङ गरिएको थियो । त्यसमध्ये ५७ जनामा क्षयरोगको संभावना देखिएको थियो । अन्य जाँच हुदाँ १७ जनामा क्षयरोग पुष्टि भएको थियो । यसैगरि, गत बैशाख २८ गतेबाट जेठ ५ गते सम्म दोश्रो चरणमा सक्रिय क्षयरोग खोज पडताल कार्यक्रम गरिएको हो ।यस अवधीमा १ हजार ९ सय ८ जनामा स्क्रिनिङ गरिएको छ । त्यसमध्ये ५८ जनामा क्षयरोगको संभावना देखिएको थियो । अन्य जाँच हुदाँ १८ जनामा क्षयरोग पुष्टि भए संगै यस आर्थिक बर्षमा ३५ जना नयाँ क्षयरोग संक्रमित भेटिएका हुन । उनीहरुको आवश्यक उपचार सुरु भइसकेको क्षयरोग कार्यक्रम संयोजक अस्मिता न्यौपानेले जानकारी दिइन । हाल चन्द्रागिरि नगरक्षेत्रमा ७ बालबालिका र १ सय ६१ अन्य गरि कुल १६८ जना क्षयरोगका बिरामीहरुले उपचार लिइरहेका छन ।
चन्द्रागिरि नगरपालिकामा आ.व २०८१/०८२ बाट यो कार्यक्रम लागु भई कार्यान्वयन भइरखेको छ । आर्थिक बर्ष २०५० सम्ममा क्षयरोगको अवस्था र क्षयरोगका कारण परिवारमा परेको आर्थिक भार शुन्य पुर्याउने उद्देश्यका साथ कार्यक्रम लागु गरिएको हो । Digital Ai x-Ray प्रविधीबाट जोखिम समुहमा सक्रिय क्षयरोग खोज पडताल कार्यक्रम संचालन भएको हो ।

