जोखिमपूर्ण अवस्थामा रहेका होर्डिङ बोर्ड हटाउन थालिए, आधा काटेर विज्ञापन जोगाउने व्यापारीको तिकडम पनि कायमै
चन्द्रागिरि मेट्रो विशेषः
काठमाडौं । चन्द्रागिरि नगरपालिकासँग सीमा जोडिएको धादिङको धुनीबेँसी नगरक्षेत्रअन्तर्गत सिस्नेखोला क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका होर्डिङ बोर्ड हटाउन थालिएको छ।
होर्डिङ बोर्डका कारण बढ्दै गएको जोखिमबारे चन्द्रागिरि मेट्रोले निरन्तर समाचार प्रकाशन गर्दै आएपछि सम्बन्धित विज्ञापन व्यवसायीहरूले जोखिमयुक्त बोर्ड हटाउन थालेका हुन्।केही दिनअघि परेको अविरल वर्षासँगै सिस्नेखोला क्षेत्रमा पहिरो गएपछि सडक आसपास राखिएका ठूला होर्डिङ बोर्डहरू थप जोखिमपूर्ण अवस्थामा पुगेका थिए। पहिरोका कारण बोर्डका जग तथा संरचना कमजोर बने पनि लामो समयसम्म सम्बन्धित निकायको प्रभावकारी निगरानी र आवश्यक कारबाही हुन नसक्दा दुर्घटनाको जोखिम झनै बढेको थियो।चन्द्रागिरि मेट्रोले ‘चन्द्रागिरि नगरक्षेत्रमा होर्डिङ बोर्डको आतंक’, ‘अवैध होर्डिङ बोर्डमा व्यापारीको मनोमानी, स्थानीय सरकार मौन’ लगायतका समाचारमार्फत जोखिमपूर्ण होर्डिङ बोर्ड, व्यवसायीको मनोमानी र नियामक निकायको मौनताबारे निरन्तर खबरदारी गर्दै आएको थियो।समाचारको प्रभावसँगै जोखिमपूर्ण अवस्थामा रहेका केही होर्डिङ बोर्ड हटाउने काम सुरु भएको देखिए पनि समस्या भने पूर्णरूपमा समाधान भइसकेको छैन।
‘आधा बोर्ड काटेर आधा विज्ञापन जोगाउने प्रयास’
होर्डिङ बोर्ड हटाउने क्रममा समेत केही व्यवसायीले पूर्णरूपमा संरचना हटाउनुको सट्टा आधा मात्रै काटेर बाँकी भागमा विज्ञापन कायम राख्ने प्रयास गरिरहेको स्थानीयको भनाइ छ। यसले बोर्ड हटाउने काम औपचारिकतामा सीमित हुने र जोखिम भने कायमै रहने अवस्था देखिएको छ।विशाल आकारका बोर्डका जग कमजोर भइसकेको अवस्थामा तिनलाई हटाउने काममा खटिएका मजदुरसमेत जोखिममा छन्। सम्बन्धित निकायको प्राविधिक निगरानी तथा सुरक्षा व्यवस्थाबिना जोखिमयुक्त संरचना हटाउने काम भइरहेकाले मानवीय क्षतिको सम्भावनासमेत कायमै रहेको छ।
सुरुङमार्ग सञ्चालनपछि बढ्यो होर्डिङ बोर्ड राख्ने प्रतिस्पर्धा
केही समयअघिसम्म तुलनात्मक रूपमा सुनसान रहेको सिस्नेखोला क्षेत्रमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि होर्डिङ बोर्ड राख्ने प्रतिस्पर्धा बढेको देखिन्छ।सडक तथा सुरुङमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधनको संख्या बढेसँगै विज्ञापनको व्यावसायिक सम्भावना देखेर विभिन्न स्थानमा ठूला आकारका बोर्ड राखिएको स्थानीयको भनाइ छ।तर, तीमध्ये कतिपय बोर्ड स्थलको भौगोलिक अवस्था, हावाहुरी, पहिरोको जोखिम तथा संरचनागत सुरक्षाको प्राविधिक मूल्याङ्कनबिना राखिएको आशंका गरिएको छ।विशाल होर्डिङ बोर्डले सडक तथा आसपासको दृश्य सौन्दर्यमा असर पुर्याउनुका साथै पहिरो तथा प्राकृतिक विपद्का बेला थप जोखिम निम्त्याउन सक्ने स्थानीयको चिन्ता छ।
‘बोर्ड हटाएर मात्रै पुग्दैन, नियमन आवश्यक’
जोखिमयुक्त बोर्ड हटाउने काम सुरु हुनु सकारात्मक भए पनि अब स्थानीय तह तथा सम्बन्धित निकायले कुन बोर्ड वैध हो, कुन अवैध हो, कहाँ राख्न मिल्छ र कुन संरचना तत्काल हटाउनुपर्ने हो भन्ने स्पष्ट मापदण्डसहित अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।विज्ञापन व्यवसायीले नियम मिचेर संरचना निर्माण गर्ने र सम्बन्धित निकायले समयमै निगरानी नगर्ने हो भने आज एउटा बोर्ड हटाए पनि भोलि त्यही स्थानमा अर्को बोर्ड खडा हुन सक्ने जोखिम रहन्छ।त्यसैले सिस्नेखोला क्षेत्रमा रहेका सबै होर्डिङ बोर्डको प्राविधिक परीक्षण, अनुमति तथा संरचनागत अवस्थाको जाँच गरी जोखिमयुक्त बोर्ड तत्काल हटाउने र अवैध संरचना राख्नेमाथि नियमानुसार कारबाही गर्नुपर्ने स्थानीयको माग छ।
चन्द्रागिरि मेट्रोले उठाएको विषयपछि बोर्ड हटाउन सुरु हुनु सकारात्मक भए पनि ‘हल्लिन थालेका होर्डिङ बोर्डका जग पूर्णरूपमा हटेर जोखिम अन्त्य हुन्छ कि आधा काटेर फेरि विज्ञापनकै लागि छोडिन्छ?’ भन्ने प्रश्न भने अझै बाँकी छ।चन्द्रागिरि नगरक्षेत्र र आसपासका क्षेत्रमा होर्डिङ बोडको जोखिम नहटेसम्म वा नहटाईएसम्म चन्द्रागिरि मेट्रोले निरञ्तर खबरदारी गरिनैरहनेछ ।

