काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका हुन ।
पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने बताए ।‘नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं ।’ पुस्तक लेखक थापाले चीनसँगको परावहन सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राखीरहन ओलीलाई आग्रह गरे ।
नाकाबन्दीका बेला परराष्ट्र मन्त्रीका रुपमा आफूले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा आफ्ना अनुभूति थापाले पुस्तकमा समेटेका छन ।

