काठमाडौं । संवैधानिक परिषद्को शुक्रबारको बैठकले कुनै निर्णय गर्न सकेन ।
पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझावका कारण निर्णय हुन नसकेको हो । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने बैठकले निष्कर्ष निकालेको छ ।सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ। रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसदमा संसदीय सुनुवाइ समितिमा पठाउने छ । त्यसमा त्रुटिरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको हो । भदौ ३१ गते सोमबार परिषद्को बैठक बस्ने र आवश्यक निर्णय लिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए ।

