काठमाडौं । चन्द्रागिरि नगरपालिकाले २०८१ कार्तिक १ गते (आज) ४० माईक्रोन भन्दा कमको प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण र प्रयोग नगर्ने सम्वन्धमा एक सुचना जारी गरेको छ ।
नगरपालिकालाई सफा शहर वनाउन हरेक व्यक्तिको कर्तव्य रहेको भन्दै ४० माईक्रोन भन्दा कमको प्लाष्टिक तथा आयातित प्लाष्टिकका फूलमाला प्रयोगवाट प्राकृतिक सौन्दर्यतामा असर पुग्ने नगरको ठम्याई छ ।साथै प्रयोग पश्चात सार्वजनिक स्थान, सडक, नदिमा फाल्ने जलाउने गर्दा वायू प्रदुषण भई मानव स्वास्थ्यमा असर हुने भएकोले त्यस्ता सामाग्री विक्रि वितरण तथा प्रयोग नगर्न चेतावनी युक्त सुचना जारी भएको हो । वरिष्ठ शाखा अधिकृत भद्रा अर्यालको हस्ताक्षर सहित जारी सुचनाले सरकारको निर्णय र कार्यान्वयन गर्ने निकाय बिचको दुरी प्रष्ट्यायको छ ।सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । साथै,सरकारले २०७९ (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । चन्द्रागिरि नगरपालिकाले २०८१ कार्तिक १ गते (आज) निकालेको सुचनाले २ बर्ष अघि सरकारले प्रतिवन्ध गरेको ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला अझैपनि प्रचलनमा छ भन्ने कुराको प्रमाणित गरेको छ । आज जारी भएको सुचनाको अर्थ केहि नभएपछि एउटा सुचना जारी गर्दिउन त भन्ने हो या साच्चिकै प्रभावकारी कार्यान्वयनको लागि हो त्यो भने हेर्न बाँकी छ ।
स्मरण रहोस प्लाष्टिकका झोला प्रतिवन्धको सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्को २०७८ माघको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको थियो ।

