काठमाडौं । चन्द्रागिरि – १२ गुर्जुधारा बलम्बुका अविरल घिमिरे किक बक्सिङको विश्वविजेता बनेका छन ।
नेपाली युवा किक बक्सर घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका हुन । ‘हिमचितुवा’ का नामले चर्चित घिमिरले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया शहरस्थित नागोया कंग्रेस सेन्टरमा शुक्रबार आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ प्रतियोगितामा फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई पहिलो राउण्डमै नकआउट गर्दै ’वर्ल्ड च्याम्पियन’ हुन सफल भएका हुन् । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका छन्। हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए।उनले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल भएका थिए ।
घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन्।

