काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गरेकी छन ।
सहकारी रकम ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई संसदीय छानबिन समितिमा लामिछानेले सबै कागजात र बयान दिइसकेकाले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेकी हुन् । समिति मार्फत नै सांसद कार्कीले निष्पक्ष र न्यायसंगत व्यवहार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन् ।
जवाफमा गृहमन्त्री लेखकले भने, ‘कुनै पनि अपराधिक कार्यमा जो पनि अनुसन्धानको दायरामा आउँछ र आउनुपर्छ । कसैमाथि पनि काखापाखा हुदैँन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख होइन, तथ्य हेरेर र प्रमाण हेरेर गरिन्छ ।’

