काठमाडौं । लक्ष्मीपूजाको दिन बिहिबार देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड भएको छ ।
यो गत वर्षको तुलनामा १६४ मेगावाट बढी हो ।गत वर्षको लक्ष्मीपूजाको दिन विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १ हजार ८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १ हजार ९५५ मेगावाट थियो ।यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो । लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत् उत्पादन क्षमता भएता पनि प्राधिकरणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो ।
प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ६२ मेगावाट, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ९० मेगावाट र निजी क्षेत्रका विद्युत् गृहहरुबाट १ हजार ३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय