काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।
नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज पाटन मंगलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् भएको बताएका हुन् ।प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ ।’ विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो ।
त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो । राष्ट्रिय विभूति शङ्खधर शाखाले नेपाल मण्डलका विपन्न जनताको ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो ।

