काठमाडौं । डडेलधुरामा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अमरगढी नगरपालिका–५ बागबजारको बसपार्कमा रहको प्रहरी पोस्टको ड्युटीमा खटिएका प्रहरी सहायक हवलदार थानेश्वर प्रकाश पन्तलाई ढुङ्गाले हानेर पाँच जना युवाको समूहले घाइते बनाएका थिए । गत मङ्गलबार बेलुकी प्रहरी सहायक हवलदार पन्तले धनगढीबाट डडेलधुरातर्फ आइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गर्न रोकेका थिए । सोही क्रममा कारमा सवार अजय मेरु गाउँपालिका–४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरे । उनीहरुले प्रहरी सहायक हवलदार पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानेका थिए । ढुङ्गा प्रहारबाट घाइते पन्तको धनगढीमा उपचार भइरहेको छ ।प्रहरीले कार चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २२ वर्षीय रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको हो ।अजय मेरु–४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र जित ऐरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

