काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद नेपाल,चन्द्रागिरि नगर परिषदले ब्लड क्यान्सर पिडित लोक गायक बलवीर थापालाई आर्थीक सहयोग गरेको छ ।
पूर्व सुरक्षाकर्मीको समुहले राष्ट्रिय लोक दोहोरी गायिका सर्मीला गुरुङ मार्फत ८५ हजार ५ सय २२ रुपैया नगद सहयोग गरेको हो ।सहयोग रकम बुझ्दै गायिका गुरुङले, थापाको उपचारमा ९० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको र परिवारबाट संभावना नभएपछि सहयोगको लागि गुहार्नु परेको बताइन ।पछिल्लो समयको उपचारले थापाको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको उनले जानकारी दिईन ।सहयोग रकम मातातीर्थमा हस्तान्तरण भएको हो ।मातातीर्थ संरक्षण तथा बिकास संस्थाका अध्यक्ष शान्ता उदासले थापाको उपचारका लागि गरिएको सहयोगका लागि पूर्व सुरक्षाकर्मीहरुलाई धन्यवाद दिदै सबैले हातेमालो गर्दै दुःखमा सबैले सहयोग गर्नु पर्ने भन्दै थप सहयोगका लागि अपिल गर्नु भयो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक एवं राष्ट्रिय लोक दोहरी गायक थापाको भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
आर्थीक अभावका कारण उपचारमा समस्या भएकाले थापाले सहयोगका लागि अनुरोध गरेका थिए । उनको अनुरोध स्वीकार्दैै पूर्व सुरक्षाकर्मी चन्द्रागिरि नगर परिषदले आर्थीक सहयोग गरेको हो ।

