काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटले चालु आर्थिक बर्ष २०८१/८२ को श्रावण देखि पुष मसान्त सम्म ४१ लाख १४ हजार ६३ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा कार्यालय परिसरमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयले भुमी तथा मालपोत कर २ लाख ८४ हजार ९ सय ७१ ,व्यवसाय कर ७ लाख ६४ हजार ८ सय ५० ,सम्पत्ति कर १३ लाख ३९ हजार ७ सय ८६ र सिफारिस तथा बहाल तथा अन्य कर १७ लाख २४ हजार ४ सय ५६ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो ।
चालु आर्थिक बर्षको ६ महिनामा वडा कार्यालयले जम्मा २ वटा योजना मात्रै सम्पन्न गरेको छ । कुल २७ वटा योजना अघि सारेको वडाले ६ महिनामा १६ वटा योजनामा समझौता गरेको छ भने ११ वटा योजनामा भने कुनै काम हुन सकेको छैन । वडा क्षेत्रमा ९ वटा जात्रा पर्व कार्यक्रम संचालन भएको र १० वटा जात्रा संचालन हुन बाँकी रहेको छ ।चालु आर्थिक बर्षको ६ महिनामा वडामा ९८ वटा व्यक्तिगत घटना दर्ता भएका छन । महिला २५ र पुरुष १८ गरि ४३ वटा जन्म दर्ता, पुरुष ७ र महिला ११ गरि १८ वटा मृत्यु दर्ता,१६ विवाह दर्ता,समबन्ध विच्छेदका २, १८ वटा बसाई सरी आएको र १ वटा बसाई सरी गएको घटना सहित ९८ वटा घटना दर्ता भएको वडा कार्यालयले जानकारी दिएको छ
।
वडा क्षेत्रमा १५ वटा व्यवसाय दर्ता भएको र १ सय ४५ वटा व्यवसाय नविकरण भएको छ । यो ६ महिनाको अवधीमा वडाले ६ सय ७८ पत्र दर्ता गरेको र ८ सय ६५ वटा पत्र चलानी गरेको समेत कार्यक्रममा जानकारी दिइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यलय मार्फत भएका कार्य सम्पादन र आगामी दिनमा गर्नुपर्ने सुझाव कार्यक्रममा उपस्थितहरुले दिएका थिए ।

