काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सूर्तिजन्य पदार्थहरुको बिक्री बितरणमा निषेध गरेको छ ।
नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनि, गुट्खा, पान, पराग वा यस्तै प्रकृतिका मुखमा राखे रस लिने वा सेवन गर्ने सूर्तिजन्य पदार्थहरुको बिक्री बितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको हो । सूर्तिजन्य पदार्थको सेवन मानब स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको स्मरण गराउदै नगरपालिकाले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले गरेको व्यवस्था अनुरुप सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो । कानुनी ब्यवस्था हुदाहुदैपनि चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र मदिरा, सूर्तिजन्य पदार्थहरु बिक्री बितरण र उपयोग नियमन र नियन्त्रण प्रभाबकारी नभएकोले स्वीकार्दै नगरपालिकाले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भुमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गई शहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको र सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई नगरपालिका क्षेत्र भित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाईएको सुचनामा उल्लेख छ ।
सूचनालाई अबज्ञा गरी विक्री बितरण गरेको पाईएमा नगर प्रहरी मार्फत जफत गरी बिक्रि बितरण गर्ने व्यवसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने व्यहोरा सुचनामा उल्लेख छ ।

