काठमाडौं । कीर्तिपुर अस्पतालमा रहेको बर्न सेन्टरलाई देशकै जलन उपचारको प्रमुख अस्पतालका रुपमा विस्तार गर्ने सरकारको योजनामा चौधरी ग्रुपले सहकार्य गर्ने भएको छ ।

जलन उपचारको डेडिकेटेड अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत चौधरी ग्रुपसँगको सहकार्यमा पहिलो चरणको काम अगाडि बढाउने समझदारी भएको हो । कीर्तिपुर नगरपालिका र फेक्ट नेपालद्वारा संयुक्त रुपमा सञ्चालित कीर्तिपुर अस्पतालमा चौधरी ग्रुपको सहयोगमा बर्न अस्पताल निर्माण कार्य अगाडि बढ्ने भएको हो । मुलुकमा विशिष्टिकृत सेवासहितको जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा डेडिकेटेड बर्न सेन्टर निर्माणका लागि चौधरी ग्रुपले चासो राखेको र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए संगै बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी, सांसद चन्द्र भण्डारी, कीर्तिपुर अस्पतालका प्रतिनिधि, वर्न सेन्टरका चिकित्सकसहित सरोकारवालासँगको बैठकमा समझदारी भएको हो । सरकारसँगको समन्वयनमा केन्द्रको भवन निर्माणका लागि छिट्टै काम सुरु गर्ने समझदारी अनुसार तोकिएकै समयमा काम सम्पन्न गर्ने चौधरी ग्रुपले प्रतिबद्धता जनाएको छ । काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगलागी हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो । सांसद भण्डारीले नेपालमा डेडिकेटेड जलन अस्पताल निर्माणका लागि सरकारसँग माग गर्दै आएका छन् । भण्डारीसँगको कुराकानीपछि नेपालमा विशिष्टकृत सुविधासहितको जलन अस्पताल स्थापना गर्ने लक्ष्य लिएको चौधरी ग्रुपका बिनोद चौधरीले बताए ।

कीर्तिपुरलाई जलन उपचारमा देशकै विशिष्टिकृत अस्पताल बनाउने र बाँकी ६ वटा प्रदेशमा रहेका जलन वार्ड विस्तार कार्य पनि सँगैसंगै भइरहेको स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय