काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन चन्द्रागिरि नगर क्षेत्रमा चन्द्रागिरि –६ स्थित मातातीर्थ कुण्ड परिसरका साथै चन्द्रागिरि –१५ तिनथाना स्थित बिष्णुदेवी मन्दिर परिसरको बिष्णुदेवी खोला किनारमा पूजास्थल निर्माण गरिएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएका छन । यसले सामाजिक सद्भाव र एकता कायम गरेको छ।

