काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज)मै चन्द्रागिरि नगरपालिकाको खर्च आम्दानी भन्दा बढी भएको छ ।
असोज मसान्तसम्म नगरपालिकाले ३३ करोड ५४ लाख ९७ हजार १ सय १७ रुपैयाँ बजेट खर्च गरेको छ । यस अवधिमा राजस्व आम्दानी भने ११ करोड ४८ लाख ८९ हजार ९ सय ९ रुपैयाँ मात्र भएको छ । तीन महिनामै सरकारको आम्दानी र खर्चका बीचमा २२ करोड ६ लाख ७ हजार २ सय ८ रुपैयाँ रहेको छ ।नगरपालिकाका अनुसार असोजसम्म भएको कुल बजेट खर्च लक्ष्यको ११.४३ प्रतिशत हो ।चालु आवमा नगरपालिकाले २ अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । चालु खर्च असोजसम्म १८ करोड ९५ लाख ३८ हजार रुपैयाँ भएको छ । यस आवमा १ अर्ब २८ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबर चालु खर्चको लक्ष्य छ । असोजसम्म १४.७५ प्रतिशत चालु खर्च भएको हो ।तीन महिनामा १४ करोड ५९ लाख ५८ हजार रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । यो लक्ष्यको ८.८४ प्रतिशत मात्र हो ।
यस वर्ष नगरपालिकाले १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य निर्धारण गरेको छ । नगरपालिकाका अनुसार यस वर्ष असोज मसान्त सम्म ११ करोड ४८ लाख ८९ हजार ९ सय ९ रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

