काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसिगाँउमा लोभ भईसकेको दाफाँ भजन फेरी गुञ्जायमान भएको छ ।
झण्डै ४ दशक पहिले देखि गाउन छोडिएको दाफाँ भजन २ महिना अघिबाट मात्रै प्रशिक्षण दिन थालिएको हो । शनिबार बोसिगाँउको नास ध अगाडिको डवलीमा भजन प्रस्तुत गरिएको हो । वडाको बिशेष सहयोग र बोसिगाँउ संस्कृति संरक्षण तथा प्रबद्र्धन व्यवस्थापन समितिले दाफाँ भजनलाई बोसिगाँउमा पूनर्जिवन दिएको हो । गत भदौ १२ गतेबाट ५ जना प्रशिक्षकहरुले नियमित प्रशिक्षण दिएसंगै प्रशिक्षितहरुले आज भजन प्रस्तुत गर्दा बोसिगाँउ दाफाँ भजनले गुञ्जायमान भएको हो । पहिलेको पुस्ताले हस्त लिखित भजन संग्रहको खोज र बाजाको बन्दोबस्त संगै सेनकालीन इतिहास बोकेको नेवारी संस्कृति ‘दाफा भजन’ ले बोसिगाँउमा आधा शताब्दि पछि गुञ्जिने मौका पाएको हो ।
दाफा भजन शास्त्रीय संगीतको उच्चतम सम्मिश्रण हो । जानकारहरूका अनुसार ‘दाफा भजन’ नेवारी संस्कृतिको मात्रै नभएर नेपाली संगीतकै महत्त्वपूर्ण मौलिक विद्या हो ।यस भजनलाई पूर्ण सार्थकता दिन करिव २ बर्ष लाग्ने प्रशिक्षकहरुले बताए ।

