१.मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
काठमाडौं । मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।सर्वोच्च अदालतले नेपालको संविधानको धार १६८ को उपधारा ४ बमोजिम २४ घण्टाभित्र विश्वासको मत लिन आदेश गरेको हो । विश्वासको मत नलिए धारा १६८ कै २ बमोजिम सरकार बनाउने मार्गमा हिँड्न पनि आदेश गरेको छ । उनले विश्वासको मत नपाए अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।यादवको नियुक्ति गैरसंवैधानिक भएको भन्दै ७३ जना सांसदहरूले अदालतमा रिट पेश गरेका थिए ।
२.भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने लगायतका यि हुन सोमबार सरकारले गरेकोे निर्णय
काठमाडौं । सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारलाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।त्यस्तै माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने बैटकले निर्णय गरेको छ ।साथै बाढीले आक्रान्त रहेको श्रीलंका सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने र विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको छ ।बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने, कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र बैंकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।
३.प्रचण्डले भने,सेनाले मात्र देशको रक्षा गर्न सक्दैन, ३ करोड नेपालीको फौज बनाऔँ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि सङ्कटमुक्त भइनसकेको अवस्थामा रहेको बताए ।दाहालले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो ।उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ ।
४.काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो । बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो । ७७ वर्षीय साहको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
५.एसिसी यु–१९ प्रिमियर कपको उपाधि युएईलाई नेपाल २७ रनले पराजित
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।फाइनलमा सोमबार युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५/२५ रनको योगदान गरे । यसैबीच नेपाल र युएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।

