काठमाडौं । चन्द्रागिरि नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन । चन्द्रागिरि–१४ स्थित फुटबल ग्राउण्डमा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख गिरीले विभिन्न आरोह अवरोह पार गर्दै छैटौं राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्न सफल भएको बताउदै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी भविष्यमा राष्ट्रिय खेलाडी बन्न सक्ने भएकाले नियमपूर्वक प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आग्रह गरे ।
नगरउपप्रमुख बसन्ती श्रेष्ठले खेलकुद र अनुशासन अभिन्न भएकाले अनुशासित रुपमा खेलमा सहभागिता जनाउन आग्रह गरिन ।प्रतियोगितामा भलिबल,कब्बडी,एथलेटिक्स र मार्सल आर्ट गरि ४ खेल बिधाहरु रहेका छन ।प्रतियोगिता सञ्चालनका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका,२०७० संशोधन सहित को परिञ्छेद –२,दफा ३ बमोजिम नगरप्रमुखको संयोजकत्वमा १५ सदस्यीय स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गठन कार्तिक २० गते गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत भलिबल बिधाका खेल न्यू डायमन्ड यूथ स्पोटर्स पुरानो नैकाप,कब्बडी बिधाका खेल मंगलोदय मा.वि थानकोट,मार्शल आर्ट बिधाका खेल रिब्स स्कुल र एथलेटिक्स बिधाका खेल नैकाप फुटबल ग्राउण्ड र सशस्त्र प्रहरी बल खेल मैदानमा हुनेछन । प्रतियोगितामा सामुदायिक १९ र संस्थागत २५,साथै ३ क्याम्पस गरी ४७ बिद्यालयका २ हजार ७२ खेलाडिको सहभागिता रहनेछ । जसमा १ हजार १ सय ४७ छात्र र ९ सय २४ छात्रा रहेका छन ।प्रगियोगितामा ५४ स्वर्ण,५४ रजत र ८० कास्य पदकका लागि भिडन्त हुनेछ ।
प्रतियोगिता अबधिभर खेलाडिको विमा गरिएको र खेलाडि बिद्यार्थीहरुलाई खाजाको व्यवस्था गरिएको छ । प्रतियोगिता मंसिर २४ गते सम्म सञ्चालन हुनेछ ।

