काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विज्ञापन कर बुझाउने सम्बन्धी सूचना जारी गरेको हो ।
नगरक्षेत्रमा रहेका सैयौं विज्ञापन बोर्डहरु,विज्ञापन कर नबुझाइ अनुमति विनानै राखिएको पाइएसंग विज्ञापन कर बुझाउन सरोकारवालाहरुमा लक्षित सुचना जारी गरिएको हो ।
सुचनामा भनिएको छ –चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति, संघसंस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नु पूर्व नगरपालिकाको स्वीकृति लिई विज्ञापन कर तिर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन, २०८२ मा व्यवस्था भएको हुँदा नगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरु राख्नु हुन सूचित गरिन्छ । साथै नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचार–प्रसार सामग्रीहरु राखिएको पाइएकोले अनुमति नलिई तथा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिंग बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचय पाटी लगायतका सम्पूर्ण विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र चन्द्रागिरि नगरपालिका राजस्व प्रशासन शाखामा सम्पर्क राखी नगरपालिकाको आर्थिक ऐन बमोजिम लाग्ने विज्ञापन कर बुझाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तत् पश्चात यस कार्यालयबाट स्वीकृत विना राखिएका तथा कर नबुझाई राखिएका सम्पूर्ण विज्ञापन सामग्रीहरु हटाई जफत गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

