काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई विधानअनुरूप भएको ठहर गरेको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वको कार्यसमितिलाई आयोगले मान्यता दिएको हो ।निर्णय आएसँगै आफ्नो फेसबुक पेजमा ’लाइभ’ गर्दै मान्यताप्राप्त समितिका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टी अब पूर्ण रूपमा निर्वाचनमा होमिने बताउदै विशेष महाधिवेशनको पक्ष वा विपक्षमा को थियो भन्ने हिसाब नराखी सबैलाई एकताबद्ध गरेर लैजानुपर्नेमा जोड दिएका छन ।
यसै बिच शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय आफूहरूलाई मान्य नभएको बताए । खड्काले यस विषयमा अब वैधानिक, राजनीतिक तथा कानुनी लडाइँ लड्ने बताए । उनले भने “यो निर्णय षड्यन्त्रपूर्ण छ, नेपाली कांग्रेस यो खारेज गर्दछ।“
यसै साता नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन पक्षधरहरूले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन भएको भन्दै गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएपछि दुवै पक्षले आफूले वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका थिए ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूले आगामी मङ्गलवार मनोनयन दर्ता गर्ने कार्यतालिकाका कारण आयोग कुन पक्षको काग्रेसलाई बैधानिकता दिने भन्ने विषयलाई छिटो टुङ्ग्याउनुपर्ने दबावमा थियो ।
मान्यता पाउने पक्षले आगामी मङ्गलवार सहजै पार्टीका उम्मेदवारहरूको मनोनयन दर्ता गर्न सक्छ। उनीहरूले कांग्रेसको रूख चिह्न लिएर चुनाव लड्न पाउँछन्।

