काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो । वाचापत्रमा रास्वपाले मध्यम वर्गको विस्तारलाई महत्व दिएको छ । यस्तै रोजगारी सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा, दलमूक्त राज्य संयन्त्र, न्याय सुधारमा मेटिरोक्रेसी, सरकारी सुधारमा लाइन होइन, अनलाइन, निजी क्षेत्रसँग साझेदारी, करको बोझ हटाउने, १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय तीन हजार डलर र ७ वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउनेजस्ता विषय समेटेको छ ।
चुनावी ‘वाचापत्र’को ३१ नम्बरमा बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने बिषय उल्लेख गरिएको छ । ३१ नम्बरमा भनिएको छ –
३१.
आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौँ। बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक ’एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौं, जसले सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्ता देखि सुरु गरि भुक्तानीको दिने व्यवस्था गर्नेछौं। हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो। त्यसैले, ’थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्तागर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ’मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिनेछौं।
https://drive.google.com/file/d/1-5Nfv8uk_Af_5qQN57zSuRJ3ObTnsIjV/view

