काठमाडौं । आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् ।
यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने छ । मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको छ । काठमाडौंमा साँझ ६ः०४ बजे ग्रहणसहित चन्द्रमा उदाउँने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको अवस्थामा देखिने छ । यो खगोलीय घटना काठमाडौंबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।
चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुँदा चन्द्र र सूर्य ग्रहण लाग्ने गर्छ । जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामी चन्द्रग्रहण लागेको देख्छौँ । त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण लागेको देखिन्छ । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् ।
चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन ।

