चक्रवात ‘अर्नब’को प्रभावले लगातार वर्षा भएपछि प्रतियोगिता सार्ने निर्णय, बिहानै कोतघर पुगेका खेलाडी निराश हुँदै फर्किए
काठमाडौं । प्रतिकूल मौसमका कारण आज शनिबार आयोजना हुने भनिएको थानकोट–चन्द्रागिरि–चित्लाङ १० माइल क्रसकन्ट्री दौड प्रतियोगिता स्थगित भएको छ। चक्रवात ‘अर्नब’को प्रभावका कारण निरन्तर भइरहेको वर्षा तथा प्रतियोगिताको निर्धारित मार्गमा देखिएको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै आयोजकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।
बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन खेलाडीहरू आज बिहानै चन्द्रागिरि नगरपालिका–४ स्थित ऐतिहासिक थानकोट कोतघरमा जम्मा भएका थिए। तर, प्रतिकूल मौसम र प्रशासनको आग्रहलाई समेत ध्यानमा राख्दै आयोजकले अन्तिम समयमा प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ।
आयोजकका अनुसार स्थगित प्रतियोगिता अब आगामी कार्तिक २८ गते शनिबार सञ्चालन हुनेछ।
‘थानकोट–चन्द्रागिरि–चित्लाङ १० माइल क्रसकन्ट्री रन एन्ड फन–२०८३’ नाम दिइएको उक्त प्रतियोगिता चन्द्रागिरि नगरपालिका–४ स्थित ऐतिहासिक कोतघरबाट सुरु भई चित्लाङमा पुगेर सम्पन्न हुने कार्यक्रम रहेको छ।
करिब १६ दशमलव ०९ किलोमिटर दूरीको यस दौडले खेलकुदसँगै इतिहास, संस्कृति र पर्यटनलाई जोड्ने लक्ष्य राखेको छ। युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने तथा थानकोट–चन्द्रागिरि–चित्लाङ क्षेत्रको पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने आयोजकको उद्देश्य रहेको छ।
ऐतिहासिक सम्पदा, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई खेलकुदसँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता मौसमका कारण पछि सरे पनि आगामी निर्धारित मितिमा सफलतापूर्वक सम्पन्न गर्ने तयारी आयोजकले गरेको छ।

