१.डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी फरार
डोल्पा जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन्। शुक्रबार राति सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । शनिबार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको पत्ता लागेको हो । ६ जनामध्ये चार जना चोरी र जबरजस्ती करणी मुद्दाका कैदी र दुई जना थुनुवा फरार भएका हुन् ।
२. पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध
काभ्रेको रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि बीपी राजमार्गमा यातायात सेवा ठप्प भएको छ । रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसी क्षेत्रमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन तत्काल कठिन देखिएको छ। वर्षा नरोकिएसम्म सडक खुलाउन समस्या हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि राजमार्गको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
३. सल्यानमा जिप दुर्घटनाः तीन जनाको मृत्यु,मकवानपुरमा ट्यांकर दुर्घटना हुँदा चालकको ज्यान गयो
सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ स्थित रातामाटेमा श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु।१ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो । दुर्घटनामा परेका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यता,मकवानपुरको बकैया गाउँपालिकामा डिजेल बोकेको ट्यांकर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बकैया गाउँपालिका–५ तिनतलेमा मदन भण्डारी लोकमार्गअन्तर्गत तराई–काठमाडौं द्रुतमार्ग नजिक शुक्रबार साँझ ट्यांकर दुर्घटनामा परेको हो । हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड गरिएको ट्यांकर दुर्घटनामा चालक सन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी ४० वर्षीय रमेशकुमार रायमाझी को मृत्यु भएको हो ।
४. त्रिवि मैदानमा पानीको भेल, एनपिएल प्रभावित हुने
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार हुने तालिकाका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना देखिएको छ । आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ। यस्तै, साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । तर, शुक्रबारदेखि काठमाडौंमा भइरहेको वर्षाका कारण आजका खेल सञ्चालन हुनेमा अन्योल देखिएको छ। वर्षाका कारण त्रिवि क्रिकेट मैदानको पिचसहित आउटफिल्ड पूरै कभरले ढाकिएको छ।
५.आज रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ ।

