भिडियो: सुजन खत्री | चन्द्रागिरि मेट्रो

(दुईदेखि तीन फिटसम्म हिउँ जम्यो, सडक अवरुद्ध भएपछि सवारीसाधन र पर्यटकलाई रोकियो)

काठमाडौं । उपल्लो मुस्ताङमा भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ। शुक्रबार रातिदेखि निरन्तर भइरहेको हिमपातका कारण लोमान्थाङ र लोघेकर दामोदरकुण्डका बस्ती, सडक तथा उच्च हिमाली क्षेत्र सेताम्मे भएका छन्। हिमपातसँगै नेपाल–चीन सीमास्थित कोरला नाकामा आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

हिमपातका कारण सीमावर्ती क्षेत्रको सडकमा बाक्लो हिउँ जम्नुका साथै सवारी आवागमन जोखिमपूर्ण बनेको छ। सशस्त्र प्रहरी बलको न्हेचुङस्थित बोर्डर आउट पोस्ट (बीओपी)का अनुसार कोरला नाका तथा आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ।

सडकमा हिउँको बाक्लो तह जमेर यात्रा जोखिमपूर्ण बनेपछि कोरलातर्फ जाने सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ। न्हेचुङबाट कोरला नाका जाने र जोमसोमतर्फ फर्किने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत तत्काल यात्रा नगर्न भनिएको छ।

मौसम सामान्य अवस्थामा नफर्किएसम्म सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न सुरक्षा निकायले अनुरोध गरेका छन्। यसले सीमावर्ती क्षेत्रमा हुने व्यापारिक गतिविधिसमेत प्रभावित हुने देखिएको छ।

यता लोमान्थाङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र बाक्लो हिउँले ढाकिएका छन्। हिमपातसँगै अत्यधिक चिसो बढेपछि स्थानीय बासिन्दाको दैनिकी कष्टकर बनेको छ। पर्यटक तथा ढुवानी व्यवसायीसमेत प्रभावित भएका छन्।

उपल्लो मुस्ताङमा हिमपात भइरहँदा तल्लो क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रसम्म वर्षा हुँदा सडक तथा यातायात सेवा प्रभावित बनेको छ। कतिपय स्थानमा पहिरोको जोखिमसमेत बढेको छ।

मौसम प्रतिकूल रहेकाले कोरला नाका तथा उपल्लो मुस्ताङतर्फ यात्रा गर्ने सर्वसाधारण, पर्यटक र सवारी चालकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय