काठमाडौं । चन्द्रागिरि नगरपालिका र बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय बिच आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौँ सञ्चालन तथा व्यवस्थापन सम्बन्धको सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट प्रदेश सचिव डा. सुमित्रा गौतम र नगरपालिकाको तर्फबाट चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले हस्ताक्षर गरेका हुन । ५ बुँदे सम्झौता पत्रमा चिकित्सालय सञ्चालन गर्ने, भवन तथा जग्गा उपलब्ध गराउने, सेवा सञ्चालन तथा समन्वय गर्ने, भौतिक संरचना तथा संरक्षण गर्ने तथा विवाद समाधानका बिषय उल्लेख छ ।
मन्त्रालयले आफ्नो मातहतमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौँ चन्द्रागिरि नगरपालिकाले उपलब्ध गराएको स्थान र भवनबाट सञ्चालन गर्ने छ । उक्त अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी लगायत आवश्यक जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको सुनिश्चितता गर्ने र आवश्यक परेमा थप भौतिक पूर्वाधार निर्माणको दायित्व मन्त्रालयको हुनेछ ।

चन्द्रागिरि नगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौंको सञ्चालनका लागि चन्द्रागिरि नगरपालिका वडा नं. ८, बौथली चोकमा अवस्थित भवन तथा चिकित्सालय सञ्चालनका लागि न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards for Ayurveda Hospital- Provincial Level )स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका, २०७३) अनुसारको जग्गा मन्त्रालयलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

