काठमाडौं । जिसस कप फुटबल प्रतियोगिताको उपाधिका लागि चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिका आज भिड्ने भएका हुन ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा भईरहेको प्रतियोगितामा चन्द्रागिरिले कीर्तिपुरलाई र दक्षिणकालीले तारकेश्वरलाई पराजित गर्दै फाइनल पुगेका हुन । बिहिबार सम्पन्न सेमिफाइनलमा चन्द्रागिरिले कीर्तिपुर नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरेको हो भने दक्षिणकालीले सडेन डेथमा तारकेश्वरलाई ६–५ गोल अन्तरले पराजित गरेको हो । फाइनल खेल हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार अपरान्ह २ बजे सुरु हुनेछ । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले फाइनल खेलमा खेलाडीहरुको हौसला बढाउन चन्द्रागिरि नगर बासिन्दालाइ खेल मैदान हलचोकमा उपस्थितिको लागि अनुरोध गरेका छन । नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालयले सामाजिक संजालमार्फत उपस्थितीका लागि अनुरोध गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ भने , द्धितिय हुने टिमले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ ।त्यस्तै उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ,सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्ताले जनही २५ हजार रुपैयाँ तथा ट्रफी पुरस्कार प्राप्त गर्नेछन ।

