काठमाडौं। नेपालले एक खेल अगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।
सोमबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको हो। योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन् । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो । युएईले दिएको ११५ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी रहँदा पूरा गरेको हो। नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन्। २८ बल खेलेकी उनले दुई चौका प्रहार गरिन् । रुविना क्षेत्री बेलबासेले १८ बलमा तीन चौकासहित २३ रनको योगदान दिइन्। ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन् । युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक विकेट लिइन् । युएईकी कप्तान ईशाले सर्वाधिक ३९ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका र एक छक्का प्रहार गरिन्। ओपनर तीर्थ शतिशले ३२ बलमा दुई चौकासहित २१ रनको वइगदान दिएकी थिइन्।
उनीहरूबीच पहिलो विकेटका लागि ४५ रनको साझेदारी भएको थियो । नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल दुवै टोलीका लागि अभ्यास मात्रै हुनेछ । अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ । उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय