काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ अन्तर्गत किसिपिडीमा आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण हुने भएको हो ।
नेवारी परम्परागत शैलिमा वडा कार्यालय भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन नगरपालिकाबाट पास भएसंगै वडा कार्यालय भवन निर्माणका लागि टेन्डरमा जानलागेको हो ।व्यवस्थित प्रशासनिक संरचना स्थापना गरी सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी,पारदर्शी र सहज बनाउनु भवन निर्माणको मुख्य उद्देश्य रहेको छ । भवनमा पर्याप्त कार्यकक्षहरू रहनेछन ।

नागरिक सेवा कक्ष, बैठक तथा सभा हल, अभिलेख कक्ष, सेबाग्राहीको लागि प्रतीक्षा कक्ष, सचिवको कार्यकक्ष, प्राविधिक कर्मचारीहरूको कार्यकक्ष, वडा अध्यक्षको कार्यकक्ष, मेलमिलाप समिति कक्ष, शौचालय तथा अन्य आवश्यक भौतिक पूर्वाधारहरूको व्यवस्था गरिएको छ । भवनको डिजाइन गर्दा विशेष रूपमा सुरक्षित, दिगो, भूकम्पप्रतिरोधी, अपाङ्गमैत्री, महिला मैत्री र सेवाग्राहीमैत्री संरचना निर्माण गर्ने लक्ष्यलाई प्राथमिकता दिएको चन्द्रागिरि नगरपालिकाका ईन्जिनियर हेमन्त महर्जनले जानकारी दिए ।

भवनको प्लिन्थ क्षेत्रफल १२३.३ वर्ग मिटर रहेको छ भने कुल क्षेत्रफल ४१९.२७ वर्ग मिटर रहने छ । भवन साढे ३ तल्लाको हुनेछ । भवनको अनुमानित लागत ४ करोड १५ लाख ९९ हजार रुपैयाँ रहेको छ । भवन निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदको गत साउन १८ गतेको निर्णय अनुसार साविक काठमाडौ जिल्ला थानकोट महादेवस्थान गा.बि.स वडा नम्बर २ ख को कित्त्ता नम्बर २९ को ४ रोपनी क्षेत्रफल मध्येको ३ रोपनी क्षेत्रफल जग्गा वडा कार्यालय भवन बनाउन स्विकृत भएको थियो ।

वडा स्तरमा सञ्चालन हुने प्रशासनिक कार्य, योजना तर्जुमा, सामाजिक सुरक्षा वितरण, दर्ता तथा सिफारिस सेवा लगायतका कार्यहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न भवनले सहयोग पुर्याउने छ । साथै स्थानीय शासन सुदृढीकरण, सेवा गुणस्तर सुधार तथा नागरिक सन्तुष्टि अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

