काठमाडौं । आज मार्च २४ तारिख, विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ ।
क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।
चन्द्रागिरि नगर क्षेत्रमा १ सय १८ जना क्षयरोगका बिरामी रहेका छन । नगरपालिकाको स्वास्थ्य शाखाले यस आर्थिक बर्षमा नगर क्षेत्रका १५ वटा वडा मध्ये ७ वटा वडामा समुदायमा स्क्रिनीङ गर्दा १५ जना नयाँ क्षयरोगी बिरामी देखिएसंगै नगर क्षेत्रमा १ सय १८ जना बिरामी देखिएका हुन । नगरक्षेत्रमा रहेका स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउनेहरुमा शंकास्पद अवस्था देखिए तत्काल उनीहरुको बिबिध पक्षको चेकजाँच गरि क्षयरोगी पत्ता लगाउने कार्य भइरहेको छ । नगर क्षेत्रका बाँकी ८ वटा वडामा पनि समुदायमा स्क्रिनीङ गर्ने योजना नगरपालिकाको रहेको स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महत्तोले जानकारी दिए ।

यस बर्षको विश्व क्षयरोग दिवसको आधिकारिक विषयवस्तु ’हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौंः जनताको शक्तिले, देशहरूको नेतृत्वमा।’ भन्ने रहेको छ । यो विषयवस्तुले देशस्तरीय नेतृत्व, समुदायको संलग्नता र प्रभावित व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू र नवप्रवर्तकहरूको शक्ति मार्फत विश्वव्यापी क्षयरोग महामारी अन्त्य गर्ने जागरुकतालाई दर्शाउछ ।
क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।
यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरूको भनाइ छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार हाल नेपालमा ४० हजार सात सय ७६ जना क्षयरोगी बिरामी उपचाररत रहेका छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्याङ्क छ ।

