काठमाडौं । कुनै समय धानका बालाले पहेँलपुर देखिने चन्द्रागिरि नगरक्षेत्रका फाँटहरू अहिले कंक्रिटका संरचनाले भरिँदै गएका छन्।

कुनै बेला रोपाइँ, गोडमेल र धान भित्र्याउने चटारोले गाउँघरमा छुट्टै रौनक ल्याउने चन्द्रागिरिमा अहिले भने धान भित्र्याउने दृश्यसमेत दुर्लभ बन्दै गएको छ। तीव्र शहरीकरण, बढ्दो जनघनत्व, जग्गा प्लटिङ र आवासीय संरचनाको विस्तारसँगै नगरक्षेत्रका खेतीयोग्य जमिन क्रमशः खुम्चिँदै गएका छन्। खेतबारीमा घर, सडक र व्यापारिक संरचना निर्माण हुन थालेपछि परम्परागत कृषि प्रणाली र त्यससँग जोडिएको मौलिक ग्रामीण जीवनशैलीसमेत संकटमा पर्दै गएको देखिन्छ।

                                                                                    (तीव्र शहरीकरणको चपेटामा चन्द्रागिरि, धान भित्र्याउने खेतै हराए!)

कुनै समय चन्द्रागिरिका विभिन्न बस्तीमा धान रोपाइँ र धान काट्ने समयमा किसानको व्यस्तता हेर्न लायक हुन्थ्यो। परिवारका सदस्य र छिमेकी मिलेर धान काट्ने, भारी बाँध्ने, दाइँ हाल्ने र घरमा धान भित्र्याउने चलन थियो। कामको चटारोसँगै खेतमा हुने हाँसो, ठट्टा र आपसी सहयोगले गाउँघरलाई उत्सवमय बनाउँथ्यो।

तर अहिले त्यस्ता दृश्य सम्झनामा सीमित हुँदै गएका छन्। खेतीयोग्य जमिन आवासीय प्रयोजनमा प्रयोग हुन थालेपछि धान उत्पादन गर्ने किसानको संख्या र खेतीको क्षेत्रफलसमेत घट्दै गएको स्थानीयस्तरमा देख्न सकिन्छ। शहरीकरण आफैँमा विकासको एउटा महत्वपूर्ण पक्ष भए पनि त्यसको नाममा खेतीयोग्य जमिनको अनियन्त्रित खण्डीकरण र उपयोग परिवर्तनले दीर्घकालीन खाद्य सुरक्षा तथा वातावरणीय सन्तुलनमा चुनौती थप्न सक्छ। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण चन्द्रागिरिको पहिचान केवल सडक, घर र भवनले मात्र पूरा हुँदैन। यहाँको कृषि संस्कृति, परम्परागत बस्ती र हरियाली संरक्षण पनि उत्तिकै आवश्यक छ।

धान भित्र्याउँदाको रमाइलो हराउँदै जानु एउटा कृषि गतिविधि हराउनु मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ग्रामीण संस्कृति र सामूहिक जीवनशैली हराउँदै जानुको संकेत पनि हो। विकासका नाममा खेत मासिँदै जाँदा भोलिको चन्द्रागिरिमा धान फल्ने खेत त परै जाओस्, धान भित्र्याउँदाको रमाइलो कथा सुनाउने पुस्तासमेत बाँकी रहला कि नरहला?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय