२८ वर्षदेखि पूर्ण कार्यान्वयनमा आउन नसकेको पशु बधशाला तथा मासु जाँच ऐन लागू गर्न सरकारको कडाइ; चन्द्रागिरिका १०० भन्दा बढी मासु व्यवसायीलाई स्वच्छ र स्वस्थ मासु बिक्री गर्न निर्देशन
काठमाडौं । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यसहित चन्द्रागिरि नगरपालिकामा मासु व्यवसायी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा चन्द्रागिरि नगर क्षेत्रका १०० भन्दा बढी मासु व्यवसायीको सहभागिता रहेको थियो।कार्यक्रममा ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ को प्रभावकारी कार्यान्वयनका विषयमा विशेष छलफल गरिएको थियो।

पशु सेवा विभागका सहसचिव डा. हेमराज अवस्थीले सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा प्रकाशित गरेको पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ सम्बन्धी व्यवस्थाबारे जानकारी गराउँदै ऐन कार्यान्वयनमा अब कुनै सम्झौता नहुने स्पष्ट पारे।ऐन जारी भएको २८ वर्ष बितिसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले मासु व्यवसायीले कानुनी प्रावधान पालना गर्न आनाकानी गर्न नहुने बताए। उपभोक्तालाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै उनले कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

त्यस्तै, पशु सेवा विभागका उपसचिव डा. कृष्णप्रसाद पाण्डेले स्वस्थ मासु उत्पादन, पशु बध गर्नुअघि र बधपश्चात् गरिने स्वास्थ्य परीक्षण, सरसफाइ तथा मासु भण्डारण र बिक्री वितरणमा अपनाउनुपर्ने आवश्यक मापदण्डबारे जानकारी गराएका थिए।उनले पशुको स्वास्थ्य अवस्थादेखि उपभोक्ताको भान्सासम्म मासुको गुणस्तर कायम राख्न सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्ने विषयमा प्रकाश पारे।मासुजन्य खाद्य पदार्थमा हुने लापरबाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले बधशालादेखि बिक्रीस्थलसम्म स्वच्छता र गुणस्तर कायम गर्नु अपरिहार्य रहेको कार्यक्रममा जोड दिइएको थियो।
चन्द्रागिरिमा आयोजित यस अन्तरक्रियाले मासु व्यवसायलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ। अब ऐनका व्यवस्था कागजमा मात्र सीमित रहने कि व्यवहारमै कार्यान्वयन हुने भन्ने विषय भने सम्बन्धित निकायको अनुगमन र व्यवसायीको जिम्मेवारीमा निर्भर रहनेछ।

