(करिब ९ लाख रुपैयाँ बराबरका १८ खसी र ८ च्याङ्ग्रा सकुशल फेला; मातातीर्थ प्रहरीको सक्रियताले व्यापारीको हराएको खुसी फर्कियो)

काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ भकुण्डेचौरमा बिक्रीका लागि राखिएका २६ वटा खसी तथा च्याङ्ग्रा एकै बिहान हराएपछि स्थानीय क्षेत्रमा खैलाबैला मच्चियो ।। तर, प्रहरीको सक्रिय खोजीका कारण करिब ९ लाख रुपैयाँ बराबरका ती पशु केही घण्टामै सकुशल फेला परे ।

आज बिहान करिब २ः३० बजे चन्द्रागिरि–८ भकुण्डेचौर नजिकै जस्ताको टहरामा राखिएका मध्ये १८ वटा खसी र ८ वटा च्याङ्ग्रा नभेटिएपछि पशुधनी प्रेमबहादुर शाही तनावमा परेका थिए।हुम्लाको चखेली गाउँपालिका–२ स्थायी घर भई हाल चन्द्रागिरि–८ मा बस्दै आएका ४४ वर्षीय शाहीले आफ्नो खोरमा रहेका  पशु हराएको थाहा पाएपछि खोजीका लागि हारगुहार गरेका थिए।घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मातातीर्थबाट असई कमलबहादुर विष्टको कमाण्डमा चार सदस्यीय प्रहरी टोली खोजीमा खटिएको थियो।

प्रहरीले सुरुमा खोरको स्थलगत निरीक्षण गर्नुका साथै घटनास्थल आसपासका सीसीटीभी फुटेजसमेत अध्ययन गरेको थियो। खोरको सुरक्षामा रहेका व्यक्तिहरू मदिरा सेवन गरेको अवस्थामा रहेको जानकारीपछि प्रहरीले चोरीको आशंकासहित अनुसन्धान अघि बढाएको थियो।तर, नजिकैका सीसीटीभी फुटेजमा पशुहरू आफैँ खोरबाट बाहिर निस्किएको देखिए पनि उनीहरूलाई लिएर गएको कुनै व्यक्ति नदेखिएपछि प्रहरीले हराएका पशुको सम्भावित गन्तव्य पहिचान गरी खोजीलाई तीव्रता दिएको थियो।

खोजीका क्रममा चन्द्रागिरि–८ धारापानी नजिकैको सामुदायिक वनमा ती सबै २६ वटा पशु फेला परेका थिए। प्रहरीले सकुशल फेला पारेका खसी तथा च्याङ्ग्रा सम्बन्धित धनी शाहीलाई जिम्मा लगाएको छ।एकै बिहान करिब ९ लाख रुपैयाँ बराबरका पशु हराउँदा चिन्तित बनेका शाही सबै पशु सकुशल फिर्ता पाएपछि खुसी भएका छन्।

समयमै सूचना प्राप्त गरी तत्काल खोजीमा खटिएको मातातीर्थ प्रहरीको सक्रियताले सम्भावित ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय