ट्रेड युनियन, विद्यार्थी तथा विभिन्न वर्ग र समुदायका उपलब्धिमाथि प्रहार भइरहेको आरोप; कांग्रेसका दुवै धार, एमाले र मधेसकेन्द्रित दलसँग सहकार्यका लागि छलफल भइरहेको खुलासा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म र भावनाविपरीत भइरहेका गतिविधिविरुद्ध आवाज उठाउन तथा एकताबद्ध हुनुपर्ने बेला आएको बताएका छन्।
चन्द्रागिरि नगरपालिका–५ लाक्षीमा आज नेपाली कम्युनिष्ट पार्टी चन्द्रागिरि नगर कार्य संयोजन समितिले राष्ट्रिय जागरण अभियानअन्तर्गत आयोजना गरेको शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि विभिन्न कोणबाट प्रहार भइरहेको दाबी गर्दै ट्रेड युनियन, विद्यार्थी तथा अन्य वर्ग र समुदायका अधिकारको रक्षाका लागि राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए।
‘संविधानको मूल मर्म र भावना विपरीतका गतिविधि भइरहेका छन्। जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिमाथि प्रहार भइरहेको छ। चाहे ट्रेड युनियनका कुरा हुन्, चाहे विद्यार्थीका वा अन्य वर्ग र समुदायका विषय हुन्, त्यसविरुद्ध आवाज उठाउन र एकताबद्ध हुनुपर्ने आवश्यकता छ,’ उनले भने।
संयोजक दाहालले वर्तमान राजनीतिक परिस्थितिबारे नेतृत्व तहमा निरन्तर छलफल भइरहेको जानकारी दिँदै नेपाली कांग्रेसका दुवै धार, नेकपा एमाले तथा मधेसकेन्द्रित दलहरूसँग समेत संवाद भइरहेको खुलासा गरे।
उनका अनुसार राजनीतिक सहकार्यसहित नयाँ परिस्थिति निर्माण गर्ने प्रयास भइरहेको छ।

