नागरिकका अपेक्षा सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व भएको नगरप्रमुख गिरीको भनाइ
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले भौतिक विकासले मात्रै समृद्धि हासिल नहुने भन्दै कानुनी तथा प्रशासनिक सुधारमा समेत जोड दिनुपर्ने बताएका छन्।
चन्द्रागिरि नगरपालिका–५ लाक्षीमा नेपाली कम्युनिष्ट पार्टी चन्द्रागिरि नगर कार्य संयोजन समितिले राष्ट्रिय जागरण अभियानअन्तर्गत आयोजना गरेको शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै गिरीले पछिल्लो समय नागरिकले अपेक्षा गरेका काम र गतिविधिलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व भएको बताए।
उनले भौतिक पूर्वाधार विकास समृद्धिको एउटा आधार भए पनि त्यसले मात्रै नागरिकको अपेक्षा पूरा गर्न नसक्ने उल्लेख गरे।
‘भौतिक विकास एउटा आधार भए पनि त्यसले मात्रै समृद्धि नहुने रहेछ। त्यसका लागि कानुनी सुधार र प्रशासनिक सुधारको पनि खाँचो छ,’ उनले भने।
नगरप्रमुख गिरीले विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी नागरिकका अपेक्षा, सेवा प्रवाह र प्रशासनिक प्रणाली सुधारसँग जोड्नुपर्ने सन्देश दिएका छन्।

