काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आयोजना तथा नेपाल सरकारको वातावरण विभागको सहजीकरणमा सवारी साधन उत्सर्जनको प्रदुषण जाँच भएको हो ।
मंगलबार चन्द्रागिरि नगरक्षेत्रको त्रिभुवन पार्क क्षेत्रमा भएको जाँचमा ४५ प्रतिशत सवारीसाधनको उत्सर्जनको प्रदुषण जाँच फेल भएको छ । कुल ३१ वटा सवारी साधनको उत्सर्जनको प्रदुषण जाँचमा १४ वटा सवारी साधन फेल भए भने जम्मा १७ वटा मात्रै पास भएका हुन ।विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाली वायुप्रदुषण गर्ने १४ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाको स्वस्थ सहर कार्यक्रम अन्तर्गत भएको चेकजाँच कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवंम वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद खडगीले पछिल्लो समय काठमाडौं उपत्यकाको वायुप्रदुषण उच्च र जोखिम यूक्त रहेको भन्दै प्रदुषण नियन्त्रणका लागि सबैको साझा संकल्प हुनुपर्नेमा जोड दिए । वायु प्रदुषण नियन्त्रणका लागि सवारी साधन उत्सर्जनको प्रदुषण जाँच सहित प्लास्टिक जन्य पदार्थ जलाउन नदिने,उद्योग कलकारखानामा नियमित अनुगमन गर्ने लगायतका कार्य गरिनुपर्नेमा उनले जोड दिए । वायु प्रदुषण नियन्त्रणका लागि सरोकारवाला निकायसंग समन्वय गरि अगाडि बढने उनले वाचा गरे ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले विभागले अन्य सरोकारवाला निकाय संगको समन्वयमा वायु प्रदुषण नियन्त्रणका लागि नियमित चेकजाँच गर्ने गरेको दाबी गरे । विभागले चेकजाँचका पछिल्लो प्रविधी भित्राउने तयारी गरिरहेको भन्दै प्रदुषण नियन्त्रणका लागि आगामी दिनमा थप प्रभावकारी योजनाका साथ अघि बढने प्रतिबद्धता व्यक्त गरे ।
चन्द्रागिरि नगर क्षेत्रमा मंगलबार भएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै अवस्था ठीक नभएका सवारी साधन चलाउदा दुर्घटनाको जोखिम समेत हुने भएकोले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन चालकहरूलाई निर्देशन समेत दिईएको छ ।
https://www.facebook.com/share/v/18MBP11d6f/

